काठमाडौं । प्रशिक्षक पेप ग्वार्डिओलाले एउटा च्याम्पियन्स लिग जितेर म्यानचेस्टर सिटीले केही खास नगरेको बताएका छन् ।
गत सिजन प्रिमियर लिग र एफ कप जितेको सिटीले ट्रेबल उपाधिको रुपमा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । फाइनल खेलमा इन्टर मिलानलाई १–० ले हराउँदै सिटीले उपाधि हात पारेको थियो ।
सिटीले नयाँ सिजनको च्याम्पियन्स लिगको सुरुआत घरेलु मैदानमा रेड स्टार बेलग्रेडसँग खेल्दै सुरुआत गर्दैछ ।
‘यो सजिलो हुनेछ । सबैभन्दा कठिन जित भनेको पहिलो जित हो ।’ ग्वार्डिओलाले थपे ।
‘च्याम्पियन्स लिग जित्नु हाम्रो क्लबका लागि अविश्वसनीय हो । कतिले एक च्याम्पियन्स लिग जिते ? धेरैले ।’ ग्वार्डिओलाले भने ।
‘हामीले एउटा च्याम्पियन्स लिग जितेर केही खास गरेका छैनौं । तर हामीलाई अविश्वसनीय रुपमा गर्व छ ।’ उनले भनेका छन् ।
च्याम्पियन्स लिग फुटबलमा समूह जीमा रहेको सिटीसंग रेड स्टार बेलग्रेडसँगै जर्मन आरबी लाइपेजिङ र स्विस योङ्ग ब्वाइज छन् ।