काठमाडौं । ब्राजिली सुपर स्टार नेयमारले साउदी अरबको फुटबल लिग फ्रेन्च लिग वान भन्दा राम्रो भएको बताएका छन् । यसै सिजन साउदी क्लबमा आबद्ध भएका नेयमारले साउदी प्रो लिगको प्रशंसा गर्दै लिग वान भन्दा अहिले राम्रो भएको बताए ।
३१ वर्षका फरवार्ड पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट अगष्टमा साढे ७७ मिलियन पाउण्डमा अल हिलालमा अनुबन्धित भएका छन् । साउदी प्रो लिगका क्लबले यस वर्ष बाहिर देशका खेलाडी किन्न ७ सय मिलियन पाउण्ड भन्दा धेरै रकम खर्च गरेका छन् ।
‘साउदी अरबमा गएका नामहरु हेर्दा मलाई साउदी लिग फ्रेन्च लिग भन्दा राम्रो भएको आश्चर्य लाग्ने छैन ।’ नेयमारले भनेका छन् ।
फिफा रिपोर्टका अनुसार साउदी क्लबले प्रिमियर लिगपछि धेरै पैसा विदेशी खेलाडीमा खर्च गरेका छन् । प्रिमियर लिगका क्लबले यस वर्ष खेलाडी अनुबन्धनमा १ दशमलव विलियन डलर खर्च गरेका छन् ।
अल इतिहादले यस सिजन लिभरपुलका फरवार्ड मोहमद सलाहलाई अनुबन्धन गर्न सकेन । सलाहका पूर्व सहकर्मी जोर्डन हेन्डरसन, रोबर्टो फिर्मिन्हो र राबिन्हो सहित प्रिमियर लिगका धेरै खेलाडी साउदी क्लबमा अनुबन्धित भएका छन् ।
साउदी क्लबले नेयमारका पीएसजीका सहकर्मी जर्जिन्हो विजनाल्डम, रियल मड्रिडका वालोन डी ओर विजेता करिम बेन्जिमा र बायर्न म्युनिखका साडियो मानेलाई समेत अनुबन्धन गरेका छन् ।
अल हिलालले विश्व कीर्तिमानी मुल्य २ सय ५९ मिलियन पाउण्ड रकम केलियन एमबाप्पेलाई खर्च गर्न तयार देखिएको थियो । तर उनी फ्रान्समै बस्न राजी भए । पीएसजीले नेयमारलाई साउदी क्लबमा बेच्यो ।
नेयमारले पीएसजीलाई ५ पटक लिग वान च्याम्पियन बनाउन मदत गरेका थिए । उनी कीर्तिमानी मुल्य २ सय मिलियन पाउण्डमा सन् २०१७ मा बार्सिलोना गएका थिए । तर चोटका कारण नेयमारको फ्रान्स बसाई सुखद रहन सकेन ।
एक पत्रकार सम्मेलनमा नेयमारले भने, ‘म आश्वस्त बनाउन चाहन्छु कि साउदी अरबको फुटबल उस्तै छ । बल गोलो छ । गोल पोस्टहरु छन् ।’
‘केही रहस्य छैन । हामीले कठिन अभ्यास गरेका छौं । जित्ने भोक अहिलेपनि उस्तै छ ।’ नेयमारले थपे, ‘म अल हिलालबाट उपाधि जित्न चाहन्छु । यसबाट धेरै कुरा बदलिदैन ।’