काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्सले ग्लोबल टीट्वान्टी क्यानडामा लगातार दोस्रो जित हात पारेको छ ।
आईतबार राती भएको खेलमा टाईगर्सले मिसिसौगा प्यान्थर्सलाई ७ विकेटले हराएको छ ।
प्यान्थर्सले दिएको १ सय ४१ रनको लक्ष्य टाइगर्स १५ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
टाईगर्सको जितमा कप्तान क्रिस लिनले ४५ बलमा ९ चौका र १ छक्कासहित ६४ रनको अर्धशतकीय ईनिङ खेले ।
सकिब अल हसन २४ बलमा ५ चौका र २ छक्कासहित ३६ बनाए । शेर्फान रदरफोर्ड २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट भए ।
प्यान्थर्सका लागि उस्मान कादिर, जसकरन सिंह र प्रभिन कुमारले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको प्यान्थर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो ।
प्यान्थर्सका लागि जेम्स निशमले ३५ बलमा ४ चौका र २ छक्कासहित अविजित ५४ रनको अर्धशतकीय ईनिङ खेले ।
नबधिद धालीवालले ४७ बलमा ४६ रन बनाउँदा अजम खानले १९ बलमा २६ रन बनाए ।
टाईगर्सका लागि कलिम सानाले ३ तथा कार्लोस ब्रेथवेटले २ विकेट लिए ।
यस खेलमा दीपेन्द्रलाई भने टाईगर्सले बेन्चमा राखेको थियो ।
दीपेन्द्रले पहिलो खेलमा सर्रे जागुअर्सविरुद्ध २२ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएका थिए ।
लगातार दोस्रो जित निकालेको टाईगर्स ४ अंकका रहेको छ । यो जितका साथ टाईगर्स अंक तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ ।
उता, तेस्रो खेलमा समेत अंकबिहिन प्यान्थर्स अंक तालिकाको पुछारमा रहेको छ ।