काठमाडौं । ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रियट्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा शरद भेषावकरको भैरहवा ग्लाडीयटर्सलाई १४ रनले हराउँदै च्याम्पियन बनेको हो ।
ललितपुरले पहिलोपटक ईपीएलको उपाधि जितेको हो । उपाधिसंगै ललितपुरले २५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भैरहवाले १० लाखमा चित्त बुझाएको छ । ललितपुरसंगको हारसंगै भैरहवा पुन: दोस्रो पटक ईपीएलको उपविजेता बनेको छ । गत सिजन पनि भैरहवा उपविजेता बनेको थियो ।
टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १४१ रन बनाउन सक्यो ।
भैरहवाका लागि प्रदीप ऐरीले ३४ रन जोड्दा रबी इन्दर सिंहले २९ रन जोडे । यस्तै कुशल मल्लले १६ रन जोडे भने कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४/१४ रनमा आउट भए ।
ललितपुरका ललित नारायण राजवंशीले ३ विकेट लिए । यस्तै पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९ ओभर १ बलमा अलआउट हुँदै १५५ रन जोडेको थियो ।
ललितपुरका लागि जयकिशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । उनले ५२ बलमा ५७ रन बनाएर आउट भए ।
यस्तै सन्दीप जोराले २४ रन जोड्दा गौरब तमोरले २३ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ११ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडे ।
ललितपुरलाई सस्तैमा समेट्न भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै मोहमद नाभिद र रायन टेन डेसकाटेले समान २/२ विकेट लिए ।
प्रतियोगितामा भैरहवाका रबी इन्दर सिंह प्लेयर अफ दि सिरिज घोषित भए । उनले टिभीएस अपाचे मोटरसाइकल प्राप्त गरे ।