काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ ।
अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ ।
यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ । आइतबार जिम्बावेसँग खेलेको प्लेईङ-११ मा एक खेलाडी परिर्वतन हुने सम्भावना रहेको छ ।
नेपालको ओपनिङ जोडिका रुपमा कुशल भुर्तेल र आशिफ शेखको जोडि नै कायम रहने प्रवल सम्भावना रहेको छ । विश्वकप छनोटपहिलो खेलमा जिम्बावेविरुद्ध लयमा देखिएका दुवैबाट यस खेलमा समेत सोहि अपेक्षा गरिएको छ ।
जिम्बावेविरुद्धको खेलमा उनीहरुले १ सय ७१ रनको साझेदारी गरेका थिए । अमेरिकाविरुद्धको खेलमा पनि सोहि प्रदर्शनको अपेक्षा रहेको छ ।
तेस्रो नम्बरमा युवा ब्याटर भीम सार्कीले मौका पाउने सम्भावना रहेको छ । छोटो समयमा नै राष्ट्रिय टोलीमा राम्रो छाप छोड्न सफल भीमबाट टोलीले सदा झैं उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्ने छ ।
चौथो नम्बरमा ओडिआई क्रिकेटमा नेपालका लागि सर्वाधिक सफल ब्याटर तथा हालका कप्तान रोहित पौडेलले मौका पाउने सम्भावना रहेको छ । रोहितको एकदिवसीय क्रिकेटमा निरन्तर रहेको उत्कृष्ट प्रदर्शनको आज पनि अपेक्षा रहने छ ।
पाँचौं स्थानमा नेपालका मध्यक्रमको खम्बा मानिने आरिफ शेख रहने सम्भावना छ । आरिफको प्रदर्शनका कारण नेपालको मध्यक्रम बलियो मानिएको छ । टोलीलाई आवश्यकता परेमा शेखले मिडियम पेस बलिङ समेत गर्ने क्षमता राख्नेछन् ।
छैटौं स्थानमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहने सम्भावना रहेको छ । दीपेन्द्र एकदिवसीय ब्याटिङमा पछिल्लो समय खास उल्लेखनिय प्रदर्शन गर्न असक्षम देखिएका छन् । १० ओभर बलिङका प्याकेज दीपेन्द्र फिल्डिङमा समेत उत्तिकै अब्बल रहदै आएका छन् । प्रशिक्षको नयाँ रणनीति अनुरुप ऐरी फिनिसर ब्याटरका रुपमा टोलीमा रहने सम्भावना रहेको छ ।
अलराउन्डर कुशल मल्ल सातौं नम्बरमा रहने सम्भावना रहेको छ । विष्फोटक ब्याटिङ सहित स्पिन बलिङको समेत क्षमता रहेका मल्ल विशेष त लामो सट खेल्न पोख्त रहेका छन् । उनबाट टिमले राम्रो फिनिश सहित केही ओभर बलिङको समेत अपेक्षा रहने छ ।
अलराउन्डर गुलसन झाले आठौं नम्बरमा स्थान बनाउने सम्भावना रहेको छ । राम्रो ब्याटिङ कला तथा तिव्र गतिको बलिङका लागि चिनिएका झाबाट ब्याटिङमा राम्रो फिनिशको अपेक्षा रहने छ । बलिङमा उनको बाउन्सर क्षमताको मुख्य अपेक्षामा टिम रहने छ ।
अर्का तिव्र गतिका बलर करण केसी नवौं नम्बरमा रहने सम्भावना रहेको छ । दशौं नम्बरमा नेपाली टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने रहने सम्भावना रहेको छ । सन्दीप एसोसिएटका हालका १ नम्बरका बलर हुन् भन्दा फरक नपर्ला । उनीबाट आजको खेलमा नम्बर १ को जस्तै बलिङ अपेक्षा रहने छ ।
एघारौं नम्बरमा स्पिनर ललित नारायण राजवंशीले मौका पाउने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी
(नोटः टोलीको आवश्यकता अनुसार ब्याटिङक्रम भने परिवर्तन हुन सक्नेछ । )