काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा लगातार ३३ इनिङपछि विकेट विहीन बनेका छन् ।
आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा जिम्बावेविरुद्ध विकेट विहीन बनेसँगै उनको ३३ ईनिङसम्मको यात्रा समाप्त भएको हो ।
जिम्बावेविरुद्ध आईतबारको खेलमा सन्दीपले १० ओभरमा ७७ रन खर्चेर कुनै विकेट लिन सकेनन् । सन्दीप पछिल्लो पटक २०२० फेब्रुअरी ९ मा ओमानविरुद्ध टियु मैदानमा विकेट विहीन बनेका थिए । उक्त खेलमा सन्दीपले १० ओभरमा ६५ रन खर्चिदा विकेट विहीन बनेका थिए ।
सोहि सिरिजमा ओमानविरुद्ध १० ओभरमा १ मेडनसहित ४५ रन खर्चेर विकेट विहीन बनेका थिए । र, आईतबार जिम्बावेविरुद्ध सन्दीप विकेट विहिन बनेका हुन् । सन्दीपले बलिङ गरेका यी तीन बाहेक अन्य सबै ओडिआई खेलमा विकेट लिएका छन् ।
सन्दीपको यो ओडिआई करिअरको दोस्रो खराब प्रदर्शन हो । आइसीसी विश्वकप लिग टू को अन्तिम खेलमा टियु मैदानमा युएईविरुद्ध १० ओभरमा ८० रन खर्चेर १ विकेट लिएका थिए । उक्त प्रदर्शन नै सन्दीपको ओडिआईमा सवैभन्दा खराब प्रदर्शन हो ।
सन्दीपले ४३ ओडिआई इनिङमा १ सय ४ विकेट लिएका छन् । सन्दीपले खेलेका ४४ खेल मध्ये एक इनिङमा मात्रै बलिङ गरेका छैनन् । २०२१ मा आइसीसी विश्वकप लिग टू मा ओमानविरुद्ध सन्दीपले बलिङ गरेका थिएनन् ।
सन्दीप ओडिआईमा सर्वाधिक धेरै ३३ इनिङमा लगातार विकेट लिने पहिलो खेलाडी हुन् । सन्दीपपछि ओडिआईमा लगातार २६ पटक अष्ट्रेलियाका तीव्र गतिका बलर ब्रेट लीले लिएका थिए ।