काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।
टेस्ट मान्यता प्राप्त टोलीसँगको पहिलो खेलमा भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । भुर्तेल नेपालको तर्फबाट टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
कुशलले ६३ बलमा ८ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । कुशल ४ दशमलब ४ ओभरमा रिर्चड नगर्भाको बलमा स्लिपमा सिकन्दर राजाबाट क्याच आउट हुनबाट जोगिएका थिए ।
जीवनदान पाउँदा कुशलले १२ बलमा १ रन बनाएका थिए ।
ओडिआई क्रिकेटमा नेपालको तर्फबाट कुशलको यो छैटौं अर्धशतक हो । कुशलको नाममा एक शतक समेत रहेको छ ।
नेपालले अहिले २० ओभरमा कुनै विकेट नगुमाई ८४ रन बनाएको छ । क्रिजमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख अविजित रुपमा रहेका छन् ।
भुर्तेलले ६३ बलमा ८ चौकाको सहयोगमा ५० रन बनाउँदा शेखले ५७ बलमा २ चौकाको सहयोगमा २९ रन बनाएका छन् ।
हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको हो । र, नेपाललाई सुरुआतमा ब्याटिङको निम्तो दिएको हो ।
नेपाल प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा रहेको छ । उता, घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ ।
जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।
नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।
२०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।
२०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो ।
नेपालको जिम्बावेसँग यो खेल नै पहिलो र अन्तिम एकदिवसीय खेल रहेको छ । ४ मार्च २०१८ मा भएको उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।
नेपालको प्लेईङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने