काठमाडौं । आईतबार घरेलु टोली जिम्बावेविरुद्ध खेल्दै नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुरुआत गर्दै छ । ५० ओभरमा नेपालले जिम्बावेसँग यस अघि सन् २०१८ मा भएको विश्वकप छनोटको अघिल्लो संस्करण खेलेको थियो ।
२०१८ मा जिम्बावेविरुद्धको खेल नै ५० ओभर क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिले खेल रहेको थियो ।
त्यो समयमा नेपालसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता नरहेका कारण सो खेल लिस्ट ए मा गनिएको थियो । जिम्बावेसँगको खेल नै टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध नेपालको पहिलो ओडिआई खेल हुनेछ ।
५२ औं ओडिआई खेलमा नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग खेल्दै छ । यो खेलमा जित हात पारेर नेपाली टोली ऐतिहासिक सफलता हात पार्न चाहन्छ । तर, जिम्बावेसँग नेपालको इतिहास कमजोर रहेको छ । एक पटक भएको खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।
२०१८ मार्च ४ मा जिम्बावेको बुलाबायोमा भएको सो खेलमा नेपालको कप्तानी पारस खड्काले गरेका थिए । नेपालविरुद्ध टस जितेर घरेलु टोलीले पहिले ब्याटिङ गरेको थियो ।
सिकन्दर राजा र ब्रेन्डन टेलरको शतकको सहयोगमा जिम्बावेले नेपालविरुद्ध निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रनको विशाल योगफल तयार गर्यो ।
जिम्बावेका विरुद्ध नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ तथा सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान १/१ विकेट आफ्नो नाम गराएका थिए ।
३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालका लागि शरद भेषवाकरले ४८ बलमा सर्वाधिक ५२ रन बनाए । ओपनर दीलिप नाथ व्यक्तिगत २ रन बनाउदै चौथो ओभरमा आउट भए ।
दोस्रो विकेटका लागि तत्कालिन कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ५४ रनको साझेदारी गरेका थिए । कप्तान खड्का ३७ बलमा ४० रन बनाउँदै आउट भएका थिए ।
उप कप्तान मल्ल ३२ तथा दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भए । छैटौं विकेटका लागि हालका कप्तान रोहित कुमार पौडेल र आरिफ शेखले ६९ रनको महत्वपूर्ण साझेदारी गरे । शेखले ५० रनको अर्धशतकीय ईनिङ खेल्दा पौडेलले ३० रन बनाएका थिए ।
सोमपाल कामी १२ तथा सन्दीप लामिछाने ७ रनमा अविजित रहे । अन्तिममा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६४ रन मात्र जोड्न सक्यो ।
जिम्बावेका लागि सिकन्दर राजाले ३ तथा ब्रेन भिटोरीले २ विकेट लिए । राजा १ सय २३ रन तथा ३ विकेट आफ्नो नाम गरेर सो खेलमा 'प्लेयर अफ दि म्याच' भएका थिए ।