एजेन्सी । भारतका तीव्र गतिका बलर जसप्रित बुमराह र भरपर्दा मध्यक्रमका ब्याटर श्रेयस अय्यरले नेपाल सहभागी रहने एसिया कपबाट राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सम्भावना रहेको छ ।
ढाडको शल्यक्रियाबाट दुवै जना सुधार उन्मुख छन् । यसै सम्स्याका कारण दुवैले इन्डियन प्रिमियर लिग र वल्र्ड टेस्ट च्याम्पियनसिप गुमाएका थिए । लामो समयबाट मैदान बाहिर रहेका दुवै खेलाडी एसिया कपका लागि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।
एसिया कप ३१ अगस्ट बाट १७ सेप्टेम्बरसम्म (भदौ १४ देखि ३१ गते सम्म) आयोजना हुने भएको छ ।
यस संस्करणको एसीया कप हाईब्रिड मोडलमा हुनेछ । एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा आयोजना हुनेछ । भारतको खेल भने श्रीलंकामा आयोजना हुनेछ ।
यो मोडल अनुसार पाकिस्तानमा प्रतियोगिताका १३ खेलमध्ये समूह चरणका भारत बाहेका ४ खेल हुनेछ । भारत र पाकिस्तानबीचको सबै खेल श्रीलंकामा खेलाइनेछ । फाइनल समेत श्रीलंकामा हुनेछ ।
विश्वकपको तयारीका लागि ५० ओभरको ढाँचामा आयोजना हुने एशिया कपमा नेपालसँगै भारत र पाकिस्तान समूह ए मा छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
सन् २०२२ को ढाँचामा जस्तै प्रत्येक समूहका शीर्ष दुई टोली सुपर फोर राउन्डमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल प्रतिस्पर्धा गर्नेछन् ।