काठमाडौं । नेपालले आइसीसी विश्वकप एकदिवसीय छनोटअघि आफ्नो अन्तिम वार्मअप खेलमा ओमानविरुद्ध सानदार ब्याटिङ गरीरहेको छ ।
ओमानबाट पाएको २ सय ६८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ विकेट गुमाउँदै १ सय २५ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल ६५ बलमा अविजित ८१ रनमा खेलिरहेका छन् । उनलाई भीम सार्कीले ३१ बलमा १४ रनमा साथ दिईरहेका छन् ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । आसिफ २४ बलमा २३ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलब २ ओभरमा अलआउट हुदै २ सय ६७ रन बनायो ।
ओमानका लागि कप्तान जिशान मकसुदले १ सय ६ बलमा १ सय ९ रनको शतकीय ईनिङ खेले । मकसुदले १ सय बलमा शतक पूरा गरेका थिए । नेपालले बलिङमा उत्कृष्ट सुरुआत गरेको थियो । ओमानले ६ दशमलब २ ओभरमा ७ रन जोड्दा ४ विकेट गुमाएको थियो ।
पाँचौ विकेटका लागि कप्तान मकसुद र सोयब खानले १ सय १४ बलमा ९४ रनको साझेदारी गरे पछि ओमान खेलमा फर्किएको थियो । खानले ६८ बलमा ३८ रन बनाए ।
सातौं विकेटका लागि मकशुदले आयान खानसँग १ सय १५ रनको शतकीय साझेदारी गदैं टोलीलाई बलियो योगफल तर्फ पुर्याएका थिए । खानले ४६ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले ।
आठौं विकेटका लागि खान र नसिम खुसिले २८ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।
सन्दीप गोडीले ३१ बलमा १५ तथा नसिम खुसिले ९ बलमा १७ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जि.सीले समान १/१ विकेट आफ्नो नाम गरे ।