काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोर र नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी एकै क्लबमा आबद्ध भएका छन् ।
ग्लोबल टी-ट्वान्टी क्यानडामा दीपेन्द्र आबद्ध टोलीका मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त भएका छन् ।
वाटमोर दीपेन्द्र आबद्ध रहेको मोन्ट्रियल टाइगर्सका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
ग्लोबल टी-ट्वान्टी क्यानडाले सामाजिक संजाल मार्फत वाटमोरको नियुक्तिबारे जानकारी दिएको हो ।
टाईगर्समा दीपेन्द्रसँगै आन्द्रे रसेल, सकिब अल हसन, क्रिस लिन, शेर्फान रदरफोर्ड र कार्लोस ब्रेथवेट लगायतका क्रिकेटरहरु रहेका छन् ।
मंगलबार राती भएको ड्राफ्टमा दीपेन्द्रलाई टाइगर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको हो ।
दीपेन्द्र पहिलो पटक विदेशी लिग खेल्दै छन् । विदेशी लिग खेल्ने दीपेन्द्र छैटौं नेपाली खेलाडी हुन् । यस अघि सन्दीप लामिछाने, सोमपाल कामी, पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिगमा आफ्नो सहभागीता जनाईसकेका छन् ।

ग्लोबल टी-ट्वान्टी खेल्ने भने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यस अघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् ।
ग्लोबल टी-ट्वान्टी क्यानडा आगामी जुलाई २० देखी ६ अगष्ट सम्म हुनेछ । नेपालका पूर्व कप्तान सन्दीप लामिछाने मंगलबार राती भएको ड्राफ्टमा सरे ज्याकआरलमा अनुबन्ध भएका छन् ।
मोन्ट्रियल टाइगर्सको टोली
सकिब अल हसन, आन्द्रे रसेल, क्रिस लिन, शेर्फान रदरफोर्ड, कार्लोस ब्रेथवेट, मोहम्मद अब्बास अफ्रिदी, जाहिर खान, मोहम्मद वासिम, अकिफ राजा, आयन खान, दीपेन्द्रसिंह ऐरी, कलिम साना, श्रीमन्था विजयरत्ने, म्याथ्यु स्पोर्स, विज्पेन्द्र सिंह, दीलप्रीत सिंह, अनुप चिमा