एजेन्सी । जारी तमिलनाडु प्रिमियर लिग(टीपीएल) मा सलेम स्पार्टन्सका कप्तान अभिषेक तन्वरले चेपक सुपर गिलिजविरुद्धको खेलमा एकै बलमा १८ रन खर्चिएका छन् ।
मंगलबार राती सम्पन्न खेलमा सलेम ५२ रनले पराजित भएको थियो । टस जितेर चेपकले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ५ विकेट गुमाएर चेपकले २ सय १७ रन बनाएको थियो ।
अन्तिम बलमा आएको १८ रनको मद्दतमा चेपकले २० औं ओभरमा २६ रन जोडेको थियो ।
२० औं ओभरको अन्तिम बलमा तन्वरले उत्कृष्ट बलिङ गर्दै ब्याट्सम्यान सञ्जय यादव बोल्ड आउट गराएका थिए । तर, त्यो नो बल साबित भएको थियो। त्यसपछि पाएको फ्रिहिटमा समेत नो बल थियो । जसलाई बायाँ हाते ब्याट्सम्यान यादवले छक्का प्रहार गरेका थिए ।
एक बल पनि नफ्याँकेर कुल योगफलमा ८ रन जोडेका थिए । त्यसपछि तिब्र गतिका बलर तन्वरले अर्को योर्कर प्रहार गरे । तर, यो फेरि नो बल थियो । ब्याट्सम्यानले यसलाई लङ अन क्षेत्रतिर प्रहार गरेर २ रन लिए ।
केही फरक गर्ने प्रयासमा, तन्वरले फेरि एक पटक फुल लेन्थ बलङ गरे । तर, यो वाइडको लागि लेग साइडमा गयो । जसले गर्दा बिना लिगल डेलिभरी नै १२ रन बन्यो ।
त्यसपछि तीव्र गतिका बलरले आफ्नो लय गुमाए । र, यादवले मिडविकेट माथिबाट छक्का प्रहार गरेर एक बलमा १८ रन बनाए ।