काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र पाकिस्तान ए बीचको खेल वर्षाका कारण रोकिएको छ ।
१५ ओभर सकिँदा नेपालले ६५ रन खर्चिएर ७ विकेट लिएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो । नेपालले पहिलो ओभरमा नै विकेट लिएको थियो ।
कविता जोशी र सीता रानामगरले समान २/२ विकेट लिदाँ इन्दु बर्माले १ विकेट लिएकी थिईन् ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको हो ।
हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजे पछि पाकिस्तान ए ले पहिले ब्याटिङ गर्दैछ ।
प्रतियोगितामा पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने सोचमा रहेका छन् ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।
समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।