काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे प्रस्थान गरेका छन् ।
दक्षिण अफ्रिकामा रहेको नेपाली टोली आइतबार जिम्बावे प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
दक्षिण अफ्रीकाले नेपालले दुई अभ्यास खेल खेलेको थियो । नेपालले नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपाल पराजित भएको थियो ।
विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ।
समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।
आ-आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।
सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।