काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले दिउँसो नेदरल्यान्ड्सको सामना गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
यस अघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो ।
नेदरल्यान्ड्सविरुद्ध भने नेपाल जित निकाल्ने योजनामा रहेको छ ।
अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छन् ।
जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ।
समूह 'बी' मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।
आ-आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।
सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो