काठमाडौं । हङकङमा हुने एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले खेल्ने भएको छ ।
थाईल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले उक्त प्रतियोगितामा सहभागीताको अवसर पाएको हो ।
प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि उक्त प्रतियोगितामा नेपालले सहभागीता जनाउने बताए ।
'थाईल्यान्डले नखेल्ने भयो । उसको स्थानमा हामीलाई एसीसीबाट हिजो बिहान मात्रै प्रस्ताव थियो । हामीले पनि ढिला नगरी त्यो प्रस्तावलाई स्विकार गर्यौ ।' पाठकले खेलपाटीसँग भने 'हामी त्यसका लागि तयारी गरिरहेका छौं । हामी १० वा ११ तारिखमा त्यसतर्फ जान्छौं ।'
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।
भारत र पाकिस्तानको भने प्रतियोगितामा ए टोली पठाउने छन् । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।
समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।
नेपाली टोली यसै सातौ मलेसियासँगको पाँच खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेर स्वेदश फर्किएको छ ।