निजगढ । दोश्रो संस्करणको स्वर्गीय महेन्द्र नारायण निधि स्मृती टी-ट्वान्टी क्रिकेट अन्तर्गत विहिबार आयोजक मधेश र सुदुरपश्चिम विजयी भएका छन् ।
जनकपुरधामस्थित रामजानकी रंगशालामा भएको पहिलो खेलमा घरेलु टोली मधेशले लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीलाई पराजित गर्यो भने दोस्रो खेलमा सुदुरले गण्डकीलाई पराजित गर्यो ।
मधेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिले बलिङ रोजेको मधेशले लुम्बिनीको ९ विकेट लिदै १ सय १३ रनमा समेट्यो । लुम्बिनीका लागि बसिर अहमदले सर्वाधिक २५ रन बनाए ।
मधेशका बिबेक यादवले ४ ओभरमा सर्वाधिक ३ विकेट लिदै १९ रन खर्चिए भने अन्य बलरहरु कप्तान हरि शंकर साहले २ र रुपेश सिंह र पवन सराफले १÷१ विकेट लिए ।
१ सय १४ रनको लक्ष्य पाएको मधेशले जवाफी ब्याटिङमा १६.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । मधेशको जितमा कप्तान हरि शंकर साहले ४१ बलमा १ छक्का र ४ चौका प्रहार गर्दै सर्वाधिक ४९ रन बनाए भने विशाल सुस्लिङले ३० रन बनाए । लुम्बिनिका अनिल खरेल,निर्मल गुरुङ,बसिर अहमद र विशाल बिक्रम केसिले समान १÷१ विकेट लिए ।
खेलको म्यान अफ द म्याच मधेशका लागि अलराउन्ड प्रदर्शन गरेका कप्तान हरि शंकर साह बने ।
दोश्रो खेलमा सुदुरले गण्डकीलाई २ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको गण्डकी १९.१ ओभरमा ६७ रन बनाएर अलआउट भयो ।
गण्डकीका दिनेश बुढामगरले सर्वाधिक १५ रन बनाए । गण्डकीलाई सस्तैमा समेट्न सुदुरका शेर मल्लले ४ ओभरमा २० रन मात्र खर्चदै सर्वाधिक ३ विकेट लिए भने हेमन्त धामी र नारायण जोशिले २÷२ तथा मिलन बोहरा र नरेन साउदले १÷१ विकेट लिए ।
६८ रनको बिजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रीएको सुदुरले १७.५ ओभरमा ८ विकेट गुमाएर ७१ रन बनाउदै लक्ष्य पूरा गर्यो ।
सुदुरका शेर मल्लले सर्वाधिक १३ रन बनाए । गण्डकीका बिपिन खत्रीले ४ ओभरमा १ मेडन सहित १६ रन मात्रै खर्चिएर सर्वाधिक ३ विकेट लिए भने चन्द्र पौडेल र सुबाष भण्डारीले २÷२ तथा कमल परियारले १ विकेट लिए ।
खेलको म्यान अफ द म्याच सुदुरका अलराउन्डर शेर मल्ल बने ।
प्रतियोगिताको तीन वटै खेलमा शतप्रतिशत जित निकालेको मधेश ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
दुई खेलमा एकमा हार र एकमा जित निकालेको लुम्बिनी २ अंक सहित दोस्रो स्थानमा रहेको छ भने आफ्नो पहिलो खेलमै जित निकालेको सुदुर २ अंक सहित तेस्रो स्थानमा रहेकोछ।
त्यसैगरी तीन खेलमा दुईमा हार र एकमा जित निकालेको गण्डकी २ अंक सहित चौथो,दुई खेलमा एकमा हार र एकमा जित निकालेको बाग्मती पाचौं,आफ्नो पहिलो खेलमै पराजित कर्णाली छैठौं र दुई खेलमा दुई खेलनै हारेको कोशी अंक तालिकाको पुछारमा रहेको छ ।