काठमाडौं । नेपालले दुईपटकको एकदिवसीय विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको छ ।
आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटका क्रममा नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो ।
यस अघि नेपालले टी-ट्वान्टी तथा एकदिवसीय फम्र्याटमा वेस्ट इन्डिजसँग खेलेको थिएन ।
वेस्ट इन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधी जितेको थियो । १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो ।
इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेस्ट इन्डिज च्याम्पियन बनेको थियो । नेपालसँगै समूह 'ए' मा रहेको छ । यस समूहमा घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन् ।
आफ्नो समूहमा रहेका अन्य तीन देशसँग नेपाल यस अघि खेलिसकेको भए पनि वेस्ट इन्डिजसँग भने पहिलो पटक खेल्दैछ । दुई पटकको विश्वकप च्याम्पियनसँग नेपालको खेल २२ जुन अर्थात असार ७ गते रहेको छ ।
नेपालसँग समूह 'ए' मै रहेको जिम्बावेसँग नेपालले एक एकदिवसीय खेल खेलेको छ । जिम्बावेसँग २०१८ मा भएको विश्वकप छनोटमा नेपालले खेलेको थियो । उक्त खेलमा जिम्बावे फराकिलो अन्तरले विजयी भएको थियो । जिम्बावेसँग नेपालको त्यो नै पहिलो र अन्तिम भेट रहेको थियो ।
समूह 'ए' मै रहेको अमेरिकासँग नेपालले छ एकदिवसीय खेल खेलेको छ । तीन खेलमा नेपाल तथा दुई खेलमा अमेरिकाले जित हासिल गरेका छन् । नेपाल र अमेरिकाबीचको एक खेल भने टाई भएको थियो ।
समूह 'ए' मै रहेको नेदरल्यान्ड्स र नेपालले दुई एकदिवसीय खेल भएको छ । नेपाल तथा नेदरल्यान्ड्सले एक एक खेलमा जित हात पारेका छन् ।
घरेलु राष्ट्रसँग खेल्दै प्रतियोगिता सुरु गर्ने नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल १८ जुन अर्थात असार ३ मा हुनेछ ।
नेपालको दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

आइसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार राती दक्षिण अफ्रीका प्रस्थान गरीसकेको छ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको हो ।तर, नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने र मुख्य मुख्यप्रशिक्षक मोन्टि देशाई भने दक्षिण अफ्रीका गएका छैनन् ।
सन्दीपविरुद्धको बलात्कार मुद्दाको फैसला नभएको कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् । मुख्य प्रशिक्षक देशाई भने भिसा समस्याका कारण केहि दिनमा जादै छन् ।
नेपालले दक्षिण अफ्रीकामा स्थानिय टोली सहित नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छन् । नेपाल दक्षिण अफ्रीकाबाटै जिम्बावे जाने छ ।
प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । उता, समूह 'बी' मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन् ।
समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।
सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।