काठमाडौं । वर्षाको कारण इन्डियन प्रिमियर लिग(आइपीएल) को प्रभावित फाइनल खेल आज सोमबार हुदैछ ।
नरेन्द्र मोदी क्रिकेट मैदानमा आइतबारका लागि तय फाइनल खेल वर्षाको कारण स्थगित भएको थियो । वर्षाका कारण प्रभावित फाइनल खेल आज रहेको रिजर्भ डे मा हुदैछ ।
अब गुजरात टाईटन्स र चेन्नई सुपर किंग्सबीचको उपाधि भिडन्त सोमबार हुदैछ । सोमबार पनि वर्षाका कारण खेल हुन नसकेमा लिग खेलको नतिजाका आधारमा गुजरात च्याम्पियन बन्नेछ ।
गुजरात र चेन्नईबीचको फाइनल खेल सोमबार साँझ ७ः४५ बजे सुरु हुने खेल तालिका रहेको छ । तर, अहमदाबादको सोमबारको मौसमले वर्षाको सम्भावना देखाएको छ । यदी वर्षाका कारण खेल रोकिएर ९ः५० सम्म सुरु हुन नसके ओभर घट्नेछ । ९ः५० सम्ममा खेल सुरु भएमा २० ओभरको नै खेल हुने सम्भावना रहेको छ ।
१२ः२० सम्ममा खेल हुन सकेमा कम्तिमा ५ ओभरको खेल हुनेछ । यदी १२ः२० पछि पनि खेल हुने सम्भावना नरहेमा सुपर ओभर हुनेछ । यदी मौसमका कारण सुपर ओभर पनि हुन नसकेमा फाइनल खेल रद्द हुनेछ ।
फाइनल खेल रद्द भएमा समूह चरणको नतिजाका आधारमा गुजरात च्याम्पियन्स बन्ने छ ।
साबिक विजेता गुजरात चेन्नईलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा गुजरात चेन्नईसँग पराजित भएको थियो ।
फाइनल प्रवेशका लागि पाएको दोस्रो मौकामा गुजरातले मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
चेन्नई पनि गुजरातलाई पराजित गरि पाँचौ पटक च्याम्पियन बन्ने सोचमा रहेको छ । १३ औं सिजनको च्याम्पियन बनेर चेन्नई मुम्बईले सर्वाधिक पाँच पटक उपाधी उचालेको कीर्तिमानलाई बराबरी गर्न चाहन्छ ।
घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । अहमदाबादमा खेलेको नौ मध्ये छ खेलमा गुजरात विजयी भएको छ । गुजरातले सिजनको पहिलो खेलमा चेन्नईलाई यसै मैदानमा पराजित गरेको थियो ।
चेन्नईको भने यस मैदानमा राम्रो प्रदर्शन रहेको छैन । यस मैदानमा खेलेको तीन खेलमा नै चेन्नई पराजित भएको छ ।
समूह चरणमा चेन्नई र गुजरातले एक खेल खेलेका थिए । समूह चरणको खेलमा गुजरात अपराजित रहेको थियो ।