काठमाडौं । युवा ओपनर शुभमन गिलको शतकमा साबिक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायर खेलमा २ सय ३४ रनको लक्ष्य दिएको छ ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३३ रन बनायो ।
गुजरातका लागि ओपनर शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय २९ रनको शतकीय ईनिङ खेले । यस सिजनमा आफ्नो तेस्रो शतक गिलले ४९ बलमा पूरा गरे ।

१ सय २९ रन बनाएका गिल आकाश मधवालको बलमा आउट भए ।
पहिलो विकेटका लागि अर्का ओपनर ऋद्धिमान शाहसँग गिलले ३८ बलमा ५४ रनको साझेदारी गरे । शाहले १६ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाए ।
दोस्रो विकेटका लागि गिल र साई सुदर्शनले ६४ बलमा १ सय ३८ रनको सानदार साझेदारी गरे । शुदर्शन ३१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४३ रन बनाउँदै रिटायर्ड आउट भए ।
कप्तान हार्दिक पान्ड्याले १३ बलमा अविजित २८ रन बनाए । राशिद खानले २ बलमा अविजित ५ रन बनाए ।
मुम्बईका लागि पीयुष चावला र आकाश मधवालले समान १/१ विकेट लिए ।
साबिक विजेता गुजरात मुम्बईलाई पराजित गरि लगातार दोस्रो पटक फाइनल पुग्ने सोचमा रहेको छ । पहिलो क्वालिफायरमा चेन्नाई सुपर किंग्ससँग पराजित भएर गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो । गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नाईले फाइनलमा स्थान बनाईसकेको छ ।
मुम्बई पनि गुजरातलाई पराजित गरि सातौं पटक फाइनल प्रवेशको सोचमा रहेको छ । ईलिमिनेटर खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएर मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
घरेलु मैदानमा खेल रहेकोले गुजरात केही बलियो देखिन्छ । समूह चरणको १४ खेलमा ४ खेल मात्र हारेर समूह विजेता बनेको गुजरात आफैमा बलियो टोली रहेको छ ।
समूह चरणमा मुम्बई र गुजरातले दुई खेल खेलेका थिए । समूह चरणका एक खेलमा मुम्बई तथा एकमा गुजरात विजयी भएका थिए ।
दोस्रो क्वालिफायर खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
पहिलो क्वालिफायर विजेता चेन्नाई र दोस्रो क्वालिफायरको विजेता टोलीले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा विजेता बन्ने टोली १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।