काठमाडौं । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि आयरल्यान्डको टोली घोषणा भएको छ ।
एन्ड्री बालबर्नीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा आयरल्यान्ड समूह बी मा रहेको छ । आयरल्यान्डको पहिलो खेल ओमानसँग जुन १९ अर्थात असार ४ मा रहेको छ ।
यस समूहमा ओमान र आयरल्यान्डसँगै श्रीलंका, युएई र स्कटल्यान्ड रहेका छन् ।
दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । क्रिकेट विश्वकप छनोट खेल्ने १० राष्ट्रमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन् ।
विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
आयरल्यान्डको टोलीः
एन्ड्रयु बालबर्नी (कप्तान), मार्क एडेयर, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डोकरेल, ग्राहम ह्युम, जोशआ लिटल, एन्डी म्याकब्रिन, ब्यारी म्याककार्थी, पीजे मूर, पल स्टर्लिङ, ह्यारी टेक्टर, लोर्कन टकर, बेन ह्वाइट र क्रेग योङ