काठमाडौं । असार ३ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसॅंग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्ने भएको छ ।
आगामी महिना जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि मंगलबार प्रकाशित खेलतालिका अनुसार असार ५ मा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो ।
असार ५ मा नेपाल र टेस्ट राष्ट्र जिम्बावेका बीचमा खेल रहेको छ । यो खेल नेपालका लागि टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्धको पहिलो ओडिआई खेल हुनेछ ।
जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहने छ । प्रतियोगिता दुई समूह बिभाजन गरि आयोजना हुनेछ ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,अमेरिका र नेदरल्यान्ड्स रहेका छन् ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले विभिन्न टेस्ट राष्ट्रसॅंग खेलेको भए पनि ओडिआईमा भने यो पहिलो अवसर हुनेछ ।
यसअघि २०१८ को विश्वकप छनोटमा नेपालले अफगानिस्तान तथा जिम्बावेसॅंग एकदिवसीय खेल खेलेको थियो । तर,त्यस समय नेपालसॅंग ओडिआई मान्यता नरहेको कारण सो खेल लिस्ट ए मान्यता प्राप्त रहेको थियो ।
अहिले नेपालसॅंग ओडिआई मान्यता रहेको कारण यो प्रतियोगितामा टेस्ट राष्ट्रसॅंगको खेल लिस्ट ए हुनेछैन ।
यो प्रतियोगितामा सहभागी पुरै दश टोलीसॅंग ओडिआई मान्यता रहेका कारण प्रतियोगिताका सबै खेल ओडिआई मान्यताको हुनेछ ।
विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
क्रिकेट विश्वकप छनोट खेल्ने १० टोली :
वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई