काठमाडौं । आईसीसी विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुनेछ ।
'मंगलबारबाट टिमको तयारी औपचारिक रुपबाट सुरु हुनेछ । बन्द प्रशिक्षणमा रहने खेलाडीको नामावली सोमबार बेलुकासम्म प्रकाशित गरिने छ ,' पाठकले खेलपाटीसँग भने 'अन्तिम तयारीका लागि नेपाली टोली केहि सातामा नै दक्षिण अफ्रिका जानेछ ।'
विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ । प्रतियोगिताको समूह विभाजन र खेल तालिका प्रकाशनमा आएको छैन ।
विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे,आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,दक्षिण अफ्रिका,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।