काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा आज सोमबार एक खेल हुदैछ ।
आइपीएल २०२३ को ६२ औं खेलमा सनराइजर्स हैदराबाद र गुजरात टाईटन्सको बीचमा खेल हुनेछ ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।
गुजरात पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो । गुजरात बाह्र खेलमा आठ जित र चार हारका साथ शीर्ष स्थानमा रहेको छ ।
आजको खेल जितेर गुजरात प्लेअफ प्रवेश गर्ने पहिलो टोली बन्न चाहन्छ ।
उता,हैदराबादलाई प्लेअफ सम्भावना कायम राख्न यस खेलमा जित आवश्यक रहेको छ । हैदराबाद एघार खेलमा चार जित र सात हारका साथ अंक तालिकाको नवौं स्थानमा रहेको छ ।
अघिल्लो खेलमा हैदराबाद लखनउ सुपर जायन्ट्ससँग पराजित भएको थियो । प्लेअफको झिनो सम्भावना कायमै राख्न हैदराबादलाई जित जरुरी रहेको छ ।
यि दुई टोलीबीचको कुल दुई खेल भएकोमा एकमा हैदराबाद र एकमा गुजरात विजयी भएका छन् । यो सिजन दुई टोली पहिलो पटक खेल्दै छन् ।
२०२२ मा भएको पछिल्लो भेटमा गुजरातले ५ विकेटको रोमान्चक जित दर्ता गरेको थियो ।