काठमाडौं । एसीसी प्रिमियर कपमा आज र्मगलबार सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल सुचारु हुदैछ ।
सोमबार बाँकी रहेको खेल आज मंगलबार रिजर्भ डेमा हुदैछ । मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो ।
युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए । खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए ।
ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए । वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।
वासिलले २७ बलमा १० रन बनाएका थिए । कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए ।
नेपालका लागि ललितनारायण राजवंशीले ४ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए ।
नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।
उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ । नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
सन् १९८४ बाट सुरु एसियाकपको १६ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलो पटक सहभागीता जनाउने लक्ष्यमा रहेको छ ।
पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो ।
उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपाल र युएईबीच २०१८ पछि भएको १३ खेलमा नेपाल सात तथा छ खेलमा जितेको छ । नेपाल र युएईबीचको पछिल्लो भेटमा नेपाल विजयी भएको थियो ।
सोमबार फाइनल खेल हुने टियु मैदानमा नेपाल पछिल्लो १५ खेलदेखि अपराजित रहेको छ । युएईसँग टियु मैदानमा भएको पछिल्लो चार खेलमा नेपाल अपराजित रहेको छ ।
युएई ब्याटरहरु पछिल्लो समयमा केही लयमा रहनु नेपालका लागि चुनौती हुनसक्छ । नेपालका बलरहरु त्यस चुनौतीलाई पन्छाउन तयार रहेका छन् ।
मंगलबार पनि वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।
तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।
आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।
एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।
समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।