काठमाडौं । वर्षा जारी रहेपछि सोमबार एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल हुने सम्भावना न्यून बनेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए।
तर, २७ दशमलब ३ ओभरमा खेल पुगेपश्चात पुन: कीर्तिपुरमा वर्षा शुरू भएको थियो।
मैदानका कर्मचारीहरूले पिचलाई कभर गरेका छन्। युएईले ९ विकेट गुमाएर १ सय ६ रन बनाएको छ।
बिहान टस शुरू भएसँगै कीर्तिपुरमा सिमसिम पानी परिरहेको थियो। यद्यपि, म्याच रेफ्री सारिका प्रशादले खेल खेलाउन अनुमति दिलाएका थिए।
खेल १६औँ ओभरमा गएर रोकिएको थियो । बिहान १० बजेर २५ मिनेटमा खेल रोकिएको थियो। पछि पानी रोकिएपछि १०:४६ मा पुन: खेल शुरू गरिएको थियो। २७ दशमलब ३ ओभरमा पुगेपश्चात बिहान ११: ५१ देखि कीर्तिपुरमा ठूलो वर्षा भएको छ।
अब के हुन्छ ?
दिउँसो ३ बजेसम्म वर्षा रोकिए २० ओभरमा खेल झारेर खेलाइने छ। तर, सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार 'रिर्जभ डे'को व्यवस्था गरिएको छ। मंगलबार घाम लागेर खेल्ने स्थिति सिर्जना भए युएईले यही ओभरबाट खेल शुरू गर्ने छ।
मंगलबार पनि वर्षा भए सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।
तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने नसके नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका अनुसार एशिया कपमा पुग्ने छ। आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९औँ स्थानमा छन्।