काठमाडौं । आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिताको आफ्नो पहिलो खेल जित्दै युएईले सुखद सुरुआत गरेको छ।
नामिबियाको विन्डोकमा रहेको वन्डुरस क्रिकेट मैदानमा भएको खेलमा युएईले पपुवा न्युगिनी(पीएनजी) लाई २१ रनले पराजित गरेको हो ।
युएईले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८ ओभर ३ बलमा अलआउट हुदै २ सय ३९ रन बनायो ।
पीएनजीका लागि ओपनर किप्लिन डोरिगा र अर्का ओपनर टोनी उराले अर्धशतकीय ईनिङ खेले । डोरिगाले ७१ बलमा ७३ तथा उराले ५६ बलमा ५६ रन बनाए ।
डोरिगा र उराले पहिलो विकेटका लागि १ सय ४६ रनको साझेदारी गरेका थिए । गौडि टोकाले २० तथा चाल्र्स अमिनीले १५ रन बनाए ।
१ सय ४६ रनमा पहिलो विकेट गुमाएको पीएनजीले बाँकी ९ विकेट गुमाउदा मात्र ९३ रन जोड्यो ।
युएईका लागि कात्र्तिक मैयप्पनले ४ तथा जाहोर खानले ३ विकेट लिए । आयान खान,जुनेद सिद्धिकी र रोहन मुस्ताफले समान १/१ विकेट लिए ।
युएईले ४४ रन अतिरिक्त स्वरुप दिएको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो ।
युएईका लागि कप्तान मुहम्मद वासिमले १ सय ६ बलमा ९६ तथा आयान खानले ९४ बलमा अविजित ९४ रन बनाए ।
८९ मा ५ विकेट गुमाईसकेको युएईका लागि आयान र वासिमले ५.छैटौं विकेटका लागि ८० रनको साझेदारी गरे ।
सातौं विकेटका रुपमा १ सय ६९ मा वासिम आउट भएपछि क्रिजमा आएका कात्र्तिक मैयप्पनसँग मिलेर खानले ९० रनको साझेदारी गरे ।
कात्र्तिक मैयप्पनले २४ रन बनाउँदा रोहन मुस्ताफाले २३ रन बनाए ।
पीएनजीका लागि चाड सोपारले ४ तथा सिमो कमियले २ विकेट लिए । विश्वकप छनोट प्लेअफको आफ्नो पहिलो खेलमा जित हात पारेको युएई २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
पीएनजी भने अंकबिहिन रहँदै चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।