५५ वर्षीय जापानी स्ट्राइकर पोर्चुगिज क्लबमा

काठमाडौं । ५५ वर्षीय जापानी स्ट्राइकर काजुयोसी मिउरा पोर्चुगिज क्लब ओलिभेरेन्समा अनुबन्धित भएका छन् ।
पोर्चुगलको दोस्रो डिभिजन क्लब ओलिभेरेन्सले जापानी स्ट्राइकरलाई लोनमा अनुबन्ध गरेको हो ।
जापानको शीर्ष डिभिजनको जे लिग क्लब योकोहामा एफसीबाट उनी लोनमा पोर्चुगिज क्लब पुगेका हुन् ।
५६ वर्षको नजिक रहेका स्ट्राइकर मिउराले ५ देशको क्लबबाट ब्यवसायिक फुटबल खेलिसकेका छन् । पोर्चुगल उनले खेल्न लागेको छैटौं राष्ट्र हो ।
जापानका पूर्व स्ट्राइकर मिउरा ६० वर्षको उमेरसम्म खेल्ने बताउदै आएका छन् ।
सन् १९८६ मा पहिलो पटक ब्यवसायिक लिग खेलेका मिउराले गत सिजन सुजुका प्वाइन्ट गेटर्सबाट लोनमा खेलेका थिए ।
जापानको चौंथो श्रेणीको सुजुकामा उनले १८ खेलमा २ गोल गरेका थिए ।

को हुन् मिउरा ?
सन् १९६७ को फेब्रुवरीमा मिउरा जन्मिएका थिए । उनले १५ वर्षको उमेरमा सन् १९८२ बाट फुटबलको करियर सुरु गरेका थिए ।
१९ वर्षको उमेरमै मिउराले ब्राजिलियन क्लब सान्तोषबाट ब्यवसायिक लिग खेलेका थिए ।
मिउराले सन् १९९० देखि सन् २००० सम्म जापानको राष्ट्रिय फुटबल टोलीबाट खेलेका थिए। उनले राष्ट्रका लागि ८९ खेल खेल्दै ५५ गोल गरेका थिए ।
जापानलाई पहिलो पटक सन् १९९८ को विश्वकपमा छनोट गराउन पनि उनले मुख्य भूमिका खेलेका थिए । छनोट चरणको खेलमा उनले १४ गोल गरेका थिए । तर, उनले विश्वकप खेल्ने अवसर भने पाएनन्।
सन् १९९३ मा पहिलो पटक जे लिग सुरु हुँदा मिउराले भर्डी कावासाकीबाट खेलेका थिए । उनकै टिम लिग च्याम्पियन बनेको थियो । अझ, मिउरा लिगकै सर्वाधिक गोलकर्ता बनेका थिए ।
मिउराले त्यसै वर्ष ‘एसियन प्लेयर अफ दि इयर’ अवार्ड समेत पाएका हुन् । यो अवार्ड पाउने उनी पहिलो जापानी खेलाडी हुन् ।
ब्यवसायिक फुटबलमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान उनको नाममा रहेको छ । मिउराले सन् २०१७ मा इन्ग्लिश खेलाडी स्टानली म्याथ्युजको नाममा रहेको कीर्तिमान भंग गरेका थिए ।
मिउराले जापान, ब्राजिल, इटाली, क्रोएसिया र अष्ट्रेलियाको लिग खेलिसकेका छन् ।







-1763515978900.webp&w=3840&q=75)





-1763473683107.jpeg&w=3840&q=75)