काठमाडौं । आम्दानीको हिसाबले विश्वका धनी क्लबमा आधा भन्दा धेरै क्लब प्रिमियर लिगबाट देखिएका छन् । डोलोइटको रिपोर्ट अनुसार आम्दानीका हिसाबले धनी क्लबमा प्रिमियर लिगको बाहुल्यता देखिएको हो ।
शीर्ष २० क्लबमा प्रिमियर लिगका ११ क्लब सर्वाधिक धनी देखिएका छन् । सन् २०२१–२२ को सिजनको विश्लेषण गर्दा शीर्ष २० मा आधा भन्दा बढी क्लब प्रिमियर लिगबाट आएका हुन् ।
पछिल्लो २६ वर्षको अध्ययनमा आधा भन्दा बढी क्लब एउटै लिगबाट अटाएको यो पहिलो पटक हो । च्याम्पियन म्यानचेस्टर सिटी सबैभन्दा धेरै आम्दानी गर्ने क्लबको शीर्ष स्थानमा छ । उसले ७ सय ३१ मिलियन युरो आम्दानी गरेको छ । रियललाई पछि पार्दै सिटी सबैभन्दा धेरै आम्दानी गर्ने क्लब बनेको हो । रियल ७ सय १३ मिलियन युरोको साथ दोस्रो स्थानमा छ ।
लिभरपुल सातौं स्थानबाट तेस्रो स्थानमा उक्लिदा शीर्ष १० मा म्यानचेस्टर युनाईटेड, चेल्सी, टोटेनहम र आर्सनल अटाएका छन् । वेस्ट ह्याम, लेस्टर, लिड्स, एभर्टन र न्युक्यासलले पनि शीर्ष २० भित्र स्थान बनाएका छन् ।
शीर्ष २० क्लबले ९ दशमलव २ विलियन युरोको आम्दानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो ।
कोभिडको प्रतिबन्धपछि समर्थक मैदान फर्किएको अवस्थामा आम्दानीमा समेत बढोत्तरी देखिएको छ । धेरै आम्दानी गर्ने शीर्ष ६ क्लबमा ५ क्लब प्रिमियर लिगकै छन् । जसमा चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड र टोटेनहम छन् । उनीहरुको आम्दानी १५ प्रतिशत भन्दा बढीले बढेको छ । यसले समग्रमा २ सय २६ मिलियन युरोको आम्दानी देखिएको छ ।
कमर्सियल आम्दानी ८ प्रतिशतले बृद्धि भएर ३ दशमलव ५ विलियन युरोबाट ३ दशमलव ८ विलियन युरोमा पुगेको छ । तर प्रत्यक्ष प्रशारणबाट प्राप्त हुने आम्दानीमा ११ प्रतिशतले गिरावट आएको छ ।
पहिलो नम्बरमा म्यानचेस्टर सिटी, दोस्रोमा रियल मड्रिड, तेस्रोमा लिभरपुल, चौथोमा म्यानचेस्टर युनाईटेड, पाँचौमा पेरिस सेन्ट जर्मेन, छैटौंमा बायर्न म्युनिख, सातौंमा बार्सिलोना, आठौंमा चेल्सी, नवौंमा टोटेनहम हट्सपर, दशौंमा आर्सनल, एघारौंमा युभेन्ट्स, बाह्रौंमा एट्लेटिको मड्रिड, तेह्रौंमा बोरुसिया डर्टमण्ड, चौधौंमा इन्टर मिलान, पन्ध्रौंमा वेस्ट ह्याम, सोह्रौंमा एसी मिलान, सत्रौंमा लेस्टर सिटी, अठारौंमा लिड्स, उन्नाईसौंमा एभर्टन र बिसौं नम्बरमा न्युक्यासल युनाईटेड रहेका छन् ।