काठमाडौं । मंगलबारमात्र फुटबलरद्धय तेज तामाङ र दिनेश राजवंशीले अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाए । राष्ट्रिय फुटबल टिमका मुख्य खेलाडी रहदै आएका तेज र दिनेशले सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया रोजे । तेज र दिनेश उड्नु अघि राष्ट्रिय टिमका अर्का खेलाडी गौतम श्रेष्ठ अष्ट्रेलिया उडिसकेका थिए । तीन जना खेलाडी यस सिजनको लिगका लागि क्लबमा अनुबन्ध भैसकेका थिए ।
तेज र दिनेशले चर्च ब्वाईज युनाईटेड र गौतमले संकटासँग यस वर्षको लिग खेल्ने सम्झौता गरेका थिए । तर अष्ट्रेलियाबाट भिषा आएपछि तीनै जना खेलाडी रोकिन चाहेनन् । तीनै जना खेलाडीले अष्ट्रेलियालाई नयाँ कर्मथलो बनाउने निर्णय गरे ।
तेज, दिनेश र गौतममात्र हैन राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका तीन दर्जन भन्दा बढी खेलाडीले अष्ट्रेलियालाई गन्तब्य बनाईसकेका छन् । खेलाडी पलायनको क्रम यतिमै रोकिने देखिदैन । राष्ट्रिय टिमका केही खेलाडीले अष्ट्रेलियाको भिषा पर्खिएर छन् भने उमेर समूहबाट खेलिसकेका कतिपय खेलाडीले भिषा ‘अप्लाई’ गरेर बसेका छन् ।
फुटबलको फोहरी राजनीति, कमजोर घरेलु फुटबलको संरचना, वर्षभरी खेल्ने वातावरण नहुनु, फुटबल नेतृत्वको असक्षमता र अनिश्चित भविष्यका कारण खेलाडी पलायन हुने क्रम बढेको छ । वर्षभरी खेल्ने प्रतियोगिता नहुदाँ र घरेलु फुटबल अन्यौलमा पर्दा सुरुवातमा केही खेलाडी अष्ट्रेलिया लागेका थिए । त्यसमा एलन न्यौपानेदेखि जगदिश श्रेष्ठसम्मका खेलाडी थिए । अब राष्ट्रिय टिममा नियमित स्थान बनाईरहेका खेलाडीलाई समेत अष्ट्रेलियाले अवसरले तान्न थालेको छ । अष्ट्रेलियामा फैलदो नेपाली समुदाय र त्यही हुर्कदै गरेको फुटबल संस्कृतिले नेपाली फुटबल खेलाडीलाई अष्ट्रेलिया सुरक्षित भविष्यको नयाँ अवसर बनेको छ ।
‘लिग हुने÷नहुने टुङ्गो छैन । एउटा उमेरसम्म मात्र खेल्न सकिने हो । भविष्यको कुनै ग्यारेन्टी छैन । अब उता गएपछि भविष्य त सुरक्षित हुन्छ ।’ अष्ट्रेलियाको भिषा पर्खिएका राष्ट्रिय फुटबल टिमका एक खेलाडी भन्छन् ।
‘यहाँ छिनभरमै फुटबल के हुन्छ, कसैले भन्न सक्ने अवस्था छैन । वर्षभरी खेल्न पाए, यही राम्रो हुन्थ्यो । तर तीन, चार महिना फुटबल खेलेर जीवनयापन गर्न समस्यानै हुन्छ । त्यही भएर अब विदेशमै जाने तयारी गरेको हुँ ।’ ती खेलाडी थप्छन् ।
विगत १० महिनादेखि राष्ट्रिय टिमकै खेलाडी बेरोजगार अवस्थामा रहे । गत फागुनमा लिग सकिएपछि खेलाडीहरु क्लबसँगको सम्झौताबाट बाहिरिएका थिए । त्यसपछि विवादका कारण एनएसएल हुन सकेन । त्यसपछि एन्फा चुनाव, नेतृत्व परिवर्तन, लिगको अनिश्चिततासँगै खेलाडीहरु निराश अवस्थामा थिए । १० महिना घरेलु फुटबल नहुँदा खेलाडीलाई दैनिक जिवनयापन गर्नै समस्या पर्दै आएका थियो । फागुनमा लिग हुने घोषणापछि क्लबहरुले खेलाडी अनुबन्ध गर्न थालेका छन् । तर वर्षभरी खेल्ने वातावरण नहुने देखेपछि खेलाडीले अष्ट्रेलियालाई गन्तब्य बनाउन थालेका हुन् । कमजोर घरेलु फुटबलको संरचना र लिगको अनिश्चिततानै खेलाडी पलायनको मुख्य कारण बनेको छ । एन्फा नेतृत्व खेलाडीमा देखिएको अविश्वासमा चिर्नुका साटो उदासिन बनेर बसेपछि तत्काल खेलाडी पलायनको क्रम रोकिने छाँट देखिदैन ।
अष्ट्रेलियामा रहेका पूर्व राष्ट्रिय खेलाडी जगदिश श्रेष्ठ घरेलु फुटबल वर्षभरी ब्यस्त भएको अवस्थामा खेलाडी विदेशिन नपर्ने बताउँछन् । ‘खेल गराउनुपर्यो । वर्षभरी खेल भएपछि खेलाडी किन बाहिरिन्छ त ? लिग हुने÷नहुने अनिश्चित देखिएपछि खेलाडी बेरोजगार बस्ने कुरा हुदैन ।’ उनी भन्छन् ।
उनी खेलाडीको पलायनलाई अन्यथा लिन नहुने बताउँछन् । ‘खेलाडीलाई सामान्य मान्छे जस्तो बनाएर सोचिदिए हुन्छ । उनीहरुको पनि परिवार हुन्छ । उनीहरुले पनि कमाउनुपर्छ । जता अवसर हुन्छ, खेलाडी त्यतै जान्छ ।’ उनी थप्छन् ।