काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका रन्जन विष्ट र नितिन थापा सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन् ।
राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड रन्जन र मिडफिल्डर नितिन बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपालले २०१६ मा सोलिडारिटी कपको उपाधि उचाल्दा रन्जन टोलीमा थिए । नितिन १३ औं सागमा नेपालले स्वर्ण पदक जित्दा टिमका महत्वपूर्ण सदस्य थिए ।
पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबबीचको विवादका कारण शीर्ष डिभिजनको लिग समयमा नहुँदा खेलाडी विदेशिनु थालेका हुन् ।
रन्जनले गत सिजन एनआरटीबाट र नितिनले मनाङ मर्स्याङ्दीबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
सोमबारमात्रै राष्ट्रिय टोलीका सुरुआती-११ कै तीन खेलाडी तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अष्ट्रेलिया प्रस्थान गरेका थिए ।
यस अघि एक दर्जन बढी फुटबल खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् ।
यस अघि राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामासहित शिव गुरुङ,आकाश बुढा मगर, रुमेश बर्तौला र अमिर श्रेष्ठ लगायतका खेलाडी अष्ट्रेलिया अष्ट्रेलिया गईसकेका छन्।