काठमाडौं । एथ्लेटिक्सको सर्बोच्च निकाय इन्टरनेशनल एसोसिएसन अफ एथ्लेटिक्स फेडेरेशन (आइएएएफ) ले रसियन एथलेटिक्स खेलाडीमाथिको प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ ।
मंगलबार बसेको आइएएएफको बैठकले रुसी खेलाडीमाथिको प्रतिबन्ध सन् २०१९ सम्म यथावत राख्ने निर्णय गरेको हो । रुसले प्रतिबन्ध हटाउन पटक पटक आग्रह गरेपनि आइएएएफले प्रतिबन्ध कायम राखिरहेको छ ।
सरकारकै संलग्नतामा रुसका खेलाडीले विभिन्न प्रतियोगितामा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गर्ने पाइएपछि आइएएएफले सन् २०१५ को नोभेम्बरबाट रुसलाई प्रतिबन्ध गर्दै आइरहेको छ ।
सन् २०११ देखि २०१५ सम्म रुसका हजार भन्दा धेरै खेलाडीले सरकारी संलग्नतामै प्रतिबन्धित औषधि प्रयोग गरिरहेको तथ्य एक स्वतन्त्र सस्था बिश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले सार्वजनिक गरेको थियो । वाडाको रिपोर्ट बाहिर आएपछि आइएएएफले रुसका खेलाडीहरुको डोपिङ टेष्ट गर्दा रुसका अधिकांस एथ्लेटिक्स खेलाडीले प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको पाइएको थियो ।
त्यसयता रुसी एथलेटिक्स खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका छैनन् । केहि खेलाडीले भने ओलम्पिकको झन्डामुनि रहेर प्रतिस्पर्धा गरेका छन् ।
यस्तै आइएएएफले हंगेरीको बुढापेस्टमा आगामी सन् २०२३ मा विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ ।