काठमाडौं । विराटनगर सुपर किंग्सका कप्तान रोहित कुमार पौडेलले बुधबार लुम्बिनी अल स्टारविरुद्धको फाईनल खेलमा आउन अनुरोध गरेका छन् ।
दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाईनलमा प्रवेश गरेपछि कुराकानीका क्रममा राम्रो क्रिकेट भईरहेकाले आएर हेरिदिन समर्थकलाई अनुरोध गरे ।
'फाईनलमा आएर हामीलाई सर्पोट गरिदिनु होला । राम्रो क्रिकेट भईराखेको छ । दुवै टोली राम्रो रहेका कारण आएर सर्पोट गरिदिनु होला । खेलमा हामीले पूरा इफोर्ट लगाएर खेल्ने छौ ,' पौडेलले भने ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।
विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो ।
फाईनलमा विराटनगरले लुम्बिनी अल स्टारसँग बुधबार खेल्दैछ ।