काठमाडौं । विराटनगर सुपर किंग्सका कप्तान रोहित कुमार पौडेलले जनकपुरका चालडिक वाल्टन क्रिजमा रहेसम्म आफुहरुलाई डर रहेको बताएका छन् ।
दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाईनलमा प्रवेश गरेपछि कुराकानीका क्रममा यस अघि पटक पटकका खेलमा वाल्टनले जनकपुरलाई जित दिलाएका कारण उनी क्रिजमा रहुन्जेल आफुहरुलाई डर रहेको बताए ।
'एकदम राम्रो प्लेयर हो । डर त भईहाल्छ । यो भन्दा अगाडी पनि उसकै कारण हामी पराजित भएका थियौ । तर, राजले एकदमै राम्रो बलिङ गर्यो चाहिएको बेलामा विकेट लियो र सुर्यले पनि राम्रो बलिङ गर्यो,' कप्तान रोहितले भने 'यो मोमेन्टमले फाईनललाई हेल्प त गर्छ नै तर,हामीले आफ्नो काम पनि गर्नु पर्छ । एक गेम हो सबैले इफोर्ट दिनु पर्छ।'
तेस्रो नम्बरमा ब्याटिङमा आएका वाल्टन १५.३ ओभरमा राज नाननको बलमा एलबीडब्लु आउट हुनु अघि ४७ बलमा ५१ रन बनाएका थिए ।
लुम्बिनीले प्रतियोगिताभर नै राम्रो प्रदर्शन गरि रहेको र लिग चरणमा आफ्नो टोलीलाई हराएको बदला समेत बुधबार हुने फाईनलमा लिने कप्तान रोहितले बताए ।
'उपाधी जित्नेमा सबै जना विश्वस्त रहेका छौं । लय पनि समातेको छ पुरै टिमले । हाम्रो टोलीको खेल लगातार भएकोले हाम्रो टिमलाई केही असर गरेको छ ,' उनले भने 'फाईनलमा आएर हामीलाई सर्पोट गरिदिनु होला । राम्रो क्रिकेट भईराखेको छ । दुवै टोली राम्रो रहेका कारण आएर सर्पोट गरिदिनु होला । खेलमा हामीले पूरा इफोर्ट लगाएर खेल्ने छौ ।'
पहिलो पटक कुनै पनि फ्रेन्चाईज क्रिकेटमा कप्तानका रुपमा फाईनल खेल्न पाउँदा आफुलाई खुसि लागेको पौडेलले बताए ।
'टिमका रुपमा हामीले धेरै राम्रो प्रदर्शन गरिरहेका छौं । इन फिल्ड तथा आउट अफ फिल्ड पनि टिमको माहोल राम्रो रहेको छ ।' पौडेलले भने 'हामीले टियुमा खेलेको धेरै भईसक्यो ।हामीले यहाँ ३० भन्दा बढी खेल खेलिसक्यौ पिच पनि स्लो भईसक्यो र प्लान अनुसार नै ब्याटिङ पैले गरेका हौं ।'