काठमाडौं । विश्व क्रिकेटको ईतिहास हेर्ने हो भने कमै विकेट किपरले ग्लभ्स खोलेर बलिङ गरेको देखिन्छ । यस्तै घटना सोमबार टियु मैदानमा देखियो ।
काठमाडौं नाइट्सका विकेटकिपर लोकेश बमले ईलिमिनेटर खेल अन्तर्गत विराटनगर किंग्सविरुद्ध विकेट किपिङ र बलिङ दुबै गरे ।
काठमाडौंमा आवद्ध रहेका सबै विदेशी खेलाडी स्वदेश फर्किएपछि ११ जना नै नेपाली खेलाडीका साथ मैदान उत्रिएको थियो ।
बेन्चमा काठमाडौंको कुनै पनि अतिरिक्त खेलाडी थिएनन् ।
काठमाडौंका खेलाडीलाई फिल्डिङको समयमा पानी समेत विराटनगरका खेलाडीले दिनु परेको थियो ।
लोकेश बमलाई सुरुआतको १० ओभरमा विकेट किपिङको भूमिकामा देखिएको थियो । तर १० ओभरपछि सन्तोष कार्कीले विकेटकिपरको जिम्मेवारी पाए । त्यसपछि बलिङमा आएका बमले स्पिन बलिङ गरे ।
एक ओभर बलिङमा आएका लोकेशले १३ रन खर्चिए । त्यसपछि भने लोकेशलाई बलिङ दिईएन ।
खेलपछि ज्ञानेन्द्र मल्लले बलर अभावको कारण लोकेशलाई बलिङ दिएको बताए ।
‘बलर ठ्याक्कै यसलाई गराउने नै पक्का थिएन । बायाँ हाते ब्याटर पनि थियो । अफस्पिनर चाहिँएको थियो । अरु बेला लोकेशले राम्रै गरेको हुन्थ्यो । मैले आज यस्तो सोचे कि सुनामले आज पहिलो ओभर देखि राम्रो गरि राखेको थिएन', मल्लले भने, 'त्यसैले एक ओभर अफ स्पिन प्रयास गरौं भनेर लोकेशलाई दिएको हो ।'