काठमाडौं । विराटनगर सुपर किंग्सका कप्तान रोहित कुमार पौडेलले टिममा एक जना मात्र खेलाडीलाई ६५ प्रतिशत रकम आएको बताएका छन् ।
काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको ईलिमिनेटरमा काठमाडौं नाईट्सलाई पराजित गरे पश्चात कुराकानीका क्रममा पौडेलले एक जना खेलाडीको ६५ प्रतिशत रकम आईसकेको बाँकी सबैको आजसम्ममा पेमेन्ट आउने बताएका छन् ।
'पेमेन्ट हाम्रो टिममा एक जनाको मात्र आएको छ । उताबाट सबैको रिलिज भइसक्यो भन्ने कुरा छ । तर, अहिलेसम्म एक जनाको ६५ प्रतिशतमात्र पारिश्रमिक आएको छ ,' रोहितले भने 'आजसम्म आउन पर्ने हो । तर, अब आज वा भोलीसम्म आइपुग्छ होला । टिम म्यानेजमेन्टसँग आज एकचोटी गएर फेरी कुरा गर्नेछौं ।'
टियु मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनायो । पाँच रन बनाउँदा दोस्रो विकेट गुमाईसकेको विराटनगरका लागि कप्तान रोहित र हुसेन तलतले ९८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
'साझेदारी एकदमै महत्वपूर्ण थियो । हाम्रो सबै गेम नकआउट हो । मेरो हुसेनको कुरा पनि भएको थियो । हामी दुईले १५ ओभरसम्म खेल्ने भन्ने । हाम्रो टार्गेट १४०/१५० सम्म पुर्याउने थियो,' रोहितले भने 'तर, अन्तिममा विवेकले राम्रो फिनिस गर्यो । यसकारण हामी १८० माथि जान सफल भयौं । आज विवेकले आफ्नो बेस्ट इनिङ खेल्यो ।'
प्रतियोगितामा ४ अर्धशतक बनाईसकेका पौडेलले आफुले ठूलो रन बनाउँन प्रयास गरिरहेको अर्को खेलमा अझ राम्रो खेल्ने बताएका छन् ।
टोलीको प्रतियोगिताको सुरुआत राम्रो नभए पनि पछि आएर लगातार राम्रो खेल्नुमा टिम ईफोर्टलाई मुख्य कारक मानेका रोहितले भने 'टिमले राम्रो एफर्ट दिइरहेको छ । एक युनिटको रुपमा खेलिरहेका छौं । यसैकारण खेल पनि राम्रो हुँदै गइरहेको छ ।'
विपक्षीमा एक जना पनि विदेशी खेलाडी रहेको कुरालाई आफुहरुलाई नतिजा ल्याउन सहज नठाने रोहितले बताए ।
'क्रिकेट खेल हो, जे पनि हुनसक्छ । विदेशी नभएपनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सक्छन् । अझ यो त टीट्वान्टी हो । त्यसकारण उनीहरुसँग ११ जनामात्र छन् भन्ने कुरालाई सहज लिएका थिएनौं,' उनले भने '११ जनामात्र देख्दा अलिकती अचम्म लाग्यो । नर्मल्ली यस्तो हुँदैन ।'
रोहितका अनुसार मंगलबार दोस्रो क्वालिफायरमा खेल्ने जनकपुर बलियो टिम रहेको बताएका छन् । आफ्नो बेस्ट दिएर खेलेमा फाईनल पुग्ने उनले बताए ।