काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा ईलिमिनेटर खेलमा जित हासिल गर्दै विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले पराजित गरेको हो ।
टियु मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनायो ।
काठमाडौंका लागि अविनाश बोहोराले ४ बलमा अविजित १६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए ।
लोकेश बम १३ रनमा आउट हुँदा कमल ऐरीले १० रन बनाए ।
विराटनगरका लागि सुर्य तामाङले ४ तथा कियोन जोसेफ र साहब आलमले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।
विराटनगरका लागि कप्तान रोहित पौडेलले गौतम केसीको बलमा आउट हुनु अघि ४९ बलमा ६१ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।
रोहितले हुसेन तलतसँग मिलेर ९८ रनको साझेदारी गरेका थिए ।
रोहितले ११ खेलमा ३ सय ४७ रन बनाएका छन् । उनी सर्वाधिक रनकर्ताको दोस्रो स्थानमा रहेका छन् । विवेक यादवले १८ बलमा अविजित ४६ रन बनाए ।
हुसेन तलतले २३ बलमा ३८ रन बनाउँदा राज नाननले १७ बलमा १३ रन बनाए ।
काठमाडौंका लागि अनिल खरेल र कमल सिंह ऐरीले समान २/२ तथा अविनाश बोहोरा र गौतम केसीले समान १/१ विकेट लिए ।
प्लेईङ-११ मा विकेटकिपरमा नाम रहेका काठमाडौंका लोकेश बमले १ ओभर बलिङ गरेका थिए ।
अब विराटनगरले फाइनलमा स्थान बनाउँनका लागि जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।