काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा ईलिमिनेटर खेलमा जितका लागि काठमाडौं नाईट्सलाई विराटनगर सुपर किंग्सले १ सय ८३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।
विराटनगरका लागि कप्तान रोहित पौडेलले गौतम केसीको बलमा आउट हुनु अघि ४९ बलमा ६१ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।
रोहितले हुसेन तलतसँग मिलेर ९८ रनको साझेदारी गरेका थिए ।
रोहितले ११ खेलमा ३ सय ४७ रन बनाएका छन् । उनी सर्वाधिक रनकर्ताको दोस्रो स्थानमा रहेका छन् । विवेक यादवले १८ बलमा अविजित ४६ रन बनाए ।
हुसेन तलतले २३ बलमा ३८ रन बनाउँदा राज नाननले १७ बलमा १३ रन बनाए ।
काठमाडौंका लागि अनिल खरेल र कमल सिंह ऐरीले समान २/२ तथा अविनाश बोहोरा र गौतम केसीले समान १/१ विकेट लिए ।
प्लेईङ-११ मा विकेटकिपर मा नाम रहेका काठमाडौंका लोकेश बमले १ ओभर बलिङ गरेका थिए ।
आजको इलिमिनेटर खेलको बिजेताले फाईनलमा स्थान बनाउँनका लागि आईतबार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाईनल प्रवेशका लागि खेल्नेछ ।
पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
यस लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा समान १/१ खेल जितेका थिए ।
आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।
यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।