काठमाडौं । सहिद स्मारक 'ए'डिभिजन लिग फुटबल तोकिएको मिति पुस २६ गतेबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार डबल लिगका आधारमा हुने 'ए' डिभिजन लिग पुस २६ देखि सुरु भएर जेठ २० गतेसम्म हुने जनाएको छ ।
एन्फाले लिग आयोजनाका लागि सोमबार 'ए' डिभिजन क्लबसँग छलफल गरेको थियो । छलफलमा पुस २६ गतेबाट लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ ।
यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउदै आएको तयारी खर्चमा १० लाख रुपैयाँ वृद्धि गरेको छ ।
एन्फाले अब लिगको तयारीका लागि 'ए' डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छन्।
क्लबको तयारी खर्चमा वृद्धि गरिए पनि पुरस्कार रकम यथावत राखिएको छ ।
यस पटक पनि लिगको विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्राईएको छ ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।