काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालले शनिबार लगातार दोस्रो जित निकाल्यो ।
ढाकामा भएको खेलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।
दोस्रो जित निकालेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगर खुशी देखिए । तर, उपाधि जित्न सबै खेलमा जित निकाल्न आवश्यक रहेको बताईन् ।
'हामी जित्न पाउँदा खुशी छौँ । च्याम्पियन बन्न हामीले सबै खेल जित्नुपर्छ । आजको बंगलादेशको टोली निकै कठिन थियो,' उनले भनिन् ।
नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औं मिनेटमा गोल गरेकी थिइन् ।
प्रशिक्षक मगरले पहिलो हाफमा खेलाडीले खेल्न नसकेको तर दोस्रो हाफमा व्यवस्थित खेल भएको बताईन् । यस जितले खेलाडीमा थप हौसला मिलेको उनले बताईन् ।
'खेल निकै कठिन थियो । हामीले पहिलो हाफ राम्रोसँग खेल्न सकेनौं । दोस्रो हाफमा व्यवस्थित भयौं,' उनले भनिन्, 'जितले हामीलाई थप हौसला दिएको छ । हामी लड्न सक्षम थियौं र आज देखायौं ।'