बेलबारी । विभागीय टोली एपीएफ क्लब मोरङको बेलबारीमा जारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा एपीएफका राजु नगरकोटी, नविन लामा, हरि कार्की, सुदिप सिख्राकार र श्याम नेपालीले गोल गरे ।
सहाराका कप्तान अजित भण्डारी, सरोज योञ्जन, दीपेश आलेमगर, जय गुरुङले गोल गर्दा आशिष गुरुङको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले रोके।
त्यसअघि खेलको २३ औं मिनेटमा नविन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।
तर, पहिलो हाफको इञ्जूरी समयमा दीपश आलेले गोल गर्दै सहारालाई खेलमा फर्काएका थिए।