काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा सहभागिता जनाउने राष्ट्रलाई फुटबलमा ध्यान केन्द्रित गर्ने समय आएको बताउदै पत्र पठाएको छ ।
फिफाले कतार विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रलाई पत्र पठाउँदै फुटबलमा ध्यान केन्द्रित गर्ने समय आएको बताएको हो।
फिफा अध्यक्ष जियानी इन्फान्टिनो र महासचिव फात्मा समौराले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, 'पृष्ठभूमि, धर्म, लिङ्ग, यौन झुकाव वा राष्ट्रियताको पर्वाह नगरी सबैलाई स्वागत छ।'
कतार विश्वकप आगामी नोभेम्बर २० मा सुरु हुँदैछ । तर, कतार विश्वकप विवादमा पर्दै आएको छ ।
पछिल्लो समय समलिङ्गी सम्बन्ध, मानवअधिकारको रेकर्ड र आप्रवासी कामदारमाथिको व्यवहारका कारण कतारको आलोचना भइरहेको छ ।
केही खेलाडीहरूले विश्वकपमा शान्तिपूर्ण विरोधको योजना बनाएका छन् ।
इंग्ल्यान्डका ह्यारी केन र युरोपेली टोलीका अन्य ९ कप्तानले ‘वन लभ’ आर्मब्यान्ड लगाउनेछन् ।
यस्तै डेनमार्कले 'टोन्ड-डाउन' जर्सी लगाउनेछ ।
फ्रान्स साविक विजेता भए पनि पेरिस र अन्य फ्रान्सेली शहरहरूले सार्वजनिक क्षेत्रमा विश्वकप खेलहरू देखाउन अस्वीकार गरिरहेका छन्।
अष्ट्रेलियाले कतारलाई समलिङ्गी सम्बन्धसम्बन्धी कानुन खारेज गर्न आग्रह गर्दै एउटा भिडियो सार्वजनिक गरेको छ ।