काठमाडौं । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
३५ वर्षीय डिफेन्डरले सामाजिक संजालमा एक भिडियो सन्देश पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् ।
पिकेले आफ्नो खेल जीवनको अन्तिम खेल शनिबार क्याम्प नाउमा खेल्ने बताएका छन् ।
बार्सिलोनाले शनिबार राति ला लिगामा अल्मेरियासँग खेल्दैछ ।
स्पेनिस डिफेन्डर पिके २००८ मा म्यान्चेस्टर युनाईटेडबाट बार्सिलोना आएका थिए ।
'मैले सधैं भनेको छु कि बार्सिलोनापछि अर्को कुनै टोली छैन र यो यस्तै हुनेछ,' उनले भनेका छन् ।

पिकेले बार्सिलोनाका लागि ६०० भन्दा बढी खेल खेलेका छन् । जसमा आठ ला लिगा उपाधि, तीन च्याम्पियन्स लिग र सात कोपा डेल रे उपाधि सहित ३० ट्रफी जितेका छन्।
स्पेनका लागि १०२ क्याप जितेर पिकेले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
पिकेले स्पेनबाट २०१२ को युरोकप र २०१० को विश्वकप जितेका थिए ।
'फुटबलले मलाई सबै थोक दिएको छ। बार्सिलोनाले मलाई सबैथोक दिएको छ। तपाई समर्थकहरुले मलाई सबै थोक दिनुभएको छ,' उनले थपेका छन् ।