काठमाडौं । इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति आरबी साल्जवर्गलाई ४-० ले हराउँदै मिलानले अन्तिम १६ को यात्रा तय गरेको हो ।
मिलानको जितमा ओलिभर जेरुडले दुई गोल गरे ।
खेलको १४ औं मिनेटमा जेरुडले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
४६ औं मिनेटमा रेड क्रुनिचले गोल गर्दा मिलानको अग्रता दोब्बर बन्यो ।
खेलको ५७ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयमा जुनियर मेस्सीआसले गोल गर्दै मिलानलाई ४-० को जित दिलाए ।
यससँगै मिलानले आठ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।
जितपछि समूह 'ई' को दोस्रो स्थानमा रहदै मिलानले अर्को चरणमा स्थान बनाएको हो ।
मिलानले ६ खेलमा १० अंक जोड्यो ।
साल्जवर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।