एमालेको चुनावी घोषणा पत्र - नेपालको खेल जगतलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य

काठमाडौं । नेकपा (एमाले) ले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट मंगलबार चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा शीर्षकमा खेलकुदको विषय राखिएको छ ।
घोषणा पत्रमा यवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान निर्माण, कभर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गरिने उल्लेख छ ।
बाह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तीनवटा मात्र स्वर्ण पदक जितेको नेपालले एमालेको नेतृत्वको सरकारको समयमा भएको तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगितामा ५१ वटा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्न सफल भएको उल्लेख गर्दै एसियाली र ओलम्पिक खेलकुदमा समेत पदक जित्ने गरी खेलाडीहरूलाई सक्षम बनाइने तथा उनीहरूको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गरिने छ, आवश्यक मात्रामा खेल पूर्वाधार तयार गरिने उल्लेख गरिएको छ ।
यस्तै खेलाडीहरूको सम्मान र वृद्धि विकासका कार्यक्रमसहित जीवनवृति प्रणाली कार्यान्वयनमा ल्याइने, राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय प्रतिष्ठा र मित्रता अभिवद्धि गर्न नेपालको खेल जगतलाई नयाँ उचाइमा पुर्र्याइने उल्लेख छ ।
त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी बन्न सक्ने सम्भावना भएका युवाको खोजी गरिने, क्षमता विकासका प्रशिक्षण र तालिम दिइने, खेल प्रतियोगिताहरूमा भाग लिने अवसर उपलब्ध गराइने र खेलाडीहरूको प्रवर्धन गरिने तथा खेलाडीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धामा विजय हासिल गर्न सक्छौँ भन्ने आत्मविश्वास र उत्साह जगाइने उल्लेख छ ।














