काठमाडौं । रुस र बोस्नियाबीच तय भएको मैत्रीपूर्ण फुटबल स्थगित गरिएको छ ।
व्यापक आलोचनापछि रुसमा तय भएको मैत्रीपूर्ण खेल स्थगित गरिएको हो ।
रुस र बोस्नियाबीचको खेल कतार विश्वकप सुरु हुनुभन्दा एक दिन अगाडि नोभेम्बर १९ मा सेन्ट पिटर्सबर्गमा हुने तय थियो।
तर, बोस्निया फुटबलले एक विज्ञप्ति निकाल्दै खेल स्थगित भएको जनाएको छ ।
बोस्नियाका कप्तान एडिन जेको र मिडफिल्डर मिरालेम पजानिकले उक्त खेलबारे आपत्ति जनाएका थिए ।
बोस्निया विश्वकपका लागि छनोट हुन सकेको छैन ।
रुसलाई भने युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाइएको छ ।