काठमाडौं । नेपालका पियुष बहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले संचालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डेमेचीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका पियुषले मंगलबार एक बिज्ञप्ति निकाल्दै कोर्षका लागि छनोट भएको जानकारी दिएका छन् ।
विश्वभरबाट ४० जना मात्र सहभागी हुने यस कोर्षमा विश्व फुटबलमा नाम चलेका जुआन माटा, जोन टेरी, टिम काहिल, फर्नान्डिन्हो, कार्ली लोयड, लगायत खेलाडी पनि सहभागी छन् ।
फिफाले सहभागीमाझ एक आपसमा अनुभव आदानप्रदानसँगै फुटबलमा सन्तुलित वातावरण निर्माण गर्न यस कोर्षले सहयोग पुर्याउने विश्वास राखेको छ । यस कोर्षमा नेतृत्व र व्यवस्थापनसँगै खेल रणनीति, युथ एकेडेमी लगायत विषयमा अध्यपान गराइने उल्लेख गरिएको छ ।
१६ महिना चल्ने यस कोर्ष पूरा गर्न सहभागीले ७ राष्ट्र यात्रा गर्नेछन् । अमेरिकाको न्यूयोर्कमा पहिलो मोड्युल समाप्त भइसकेको छ । अब कोर्षको अर्को मोड्युल कतारमा र त्यसपछि जापान, ब्राजिल, इजिप्ट र स्पेनमा हुनेछ । कोर्षको समापन भने स्विटजरल्यान्डस्थित फिफाको मुख्यालयमा हुनेछ ।
विश्वभरका क्लब अफिसियल मध्यबाट आवेदनमाफर्त विभिन्न चरणकोछनोटपछि अन्तिम ४० जनाको नाम कोर्षमा छानिएको हो ।
झन्डै ४ सय जनाको आवेदन र ३ महिनाको छनोट प्रक्रिया पार गरेर नेपालको प्रतिनिधित्व गर्न पाउँदा न्यौपानेले खुसी व्यक्त गरे ।
’फिफाको प्रतिष्ठित कोर्षमा अवसर पाउनु खुसीको विषय हो । विश्व फुटबलका ठूला नामसँग अध्ययन गर्दाको अनुभव संगाल्न आतुर छु । त्यहाँ पढे लेखेको कुरालाई नेपाली फुटबलमा प्रयोग गर्न म तत्पर छु,’ न्यौपानेले भने ।
फिफा क्लब म्यानेजमेन्ट डिप्लोमा कोर्षको यो दोस्रो संस्करण हो । यसअघि पहिलो संस्करणमा फाबियो कानाभारो, नुनो गोमेस, कार्लोस बोकानेग्रा, फिलिपे सेन्डेरस लगायत ४० जनाले कोर्ष पूरा गरेका थिए ।
न्यौपाने अफिसिअल लिभरपुल सपोर्टर्स क्लब नेपालका (ओएसएलसी) संस्थापक पनि हुन् । उनी लगायतले सन् २००७ मा ओएसएलसीको स्थापना गरेका थिए ।