फ्रान्सलाई झट्का, पोग्बाले विश्वकप गुमाउने

काठमाडौं । फ्रान्सेली स्टार पाउल पोग्बाले आसन्न विश्वकप फुटबल गुमाउने भएका छन् । चोटका कारण पोग्बाले कतारमा हुने विश्वकप फुटबल गुमाउने टुङ्गो लागेको हो ।
विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो । तर उनका एजेन्टले नयाँ घटनाक्रमबारे जानकारी दिदै पोग्बा आसन्न विश्वकपको हिस्सा नहुने बताएका छन् ।
पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने बताएका छन् । उनको घुडामा चोटको समस्या देखिएको छ । फ्रान्सका एनगोलो कान्टे यसअघिनै विश्वकप बाहिर रहने पक्का भैसकेको छ ।
पोग्बोले विश्वकप गुमाउने भएपछि फ्रान्सलाई अर्को ठुलो झट्का लागेको हो । फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपुर्ण हिस्सा थिए ।
‘पोग्बा आफुलाई चाँडो मैदान फर्काउन चाहन्छन् । तर उनलाई धैर्यता राख्न आवश्यक छ । यस कठिन समयमा उनले धेरै मेहनत गर्न आवश्यक छ । टिम र समर्थकका लागि टिममा फर्कन आफ्नो उत्कृष्ट प्रर्दशन दिन आवश्यक छ।’ एजेन्ट पिमेन्टाले भनेका छन् ।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले नेभेम्बरमा अष्ट्रेलियाविरुद्ध हुने पहिलो खेल अघिमात्र खेलाडीको छनोट टुङ्गो लाग्ने बताएका छन् ।
पोग्बाले अन्तिम टिममा स्थान बनाउने विश्वास गरिएको थियो । तर पछिल्लो चोटले उनी छनोट दौडबाट लगभग बाहिरिएका छन् ।
रिपोर्टका अनुसार २९ वर्षिया मिडफिल्डरलाई घुडामा नयाँ चोट लागेको छ । उनी मैदान फर्कन प्रयास गर्दै आएका थिए । सोही कारण इटालियन क्लब युभेन्ट्स आएपनि उनी सुरुवाती टिममा रहेर खेल्न पाएका छैनन् ।
सेप्टेम्बरमा दाहिने घुडाको सल्यक्रियापछि पोग्बालाई लगभग दुई महिना टिम बाहिर राखिएको थियो । उनी नोभेम्बर २० सम्म विश्वकपका लागि तयार हुने अपेक्षा गरिएको थियो । तर नयाँ चोटले त्यो सम्भाावनालाई समाप्त पारिदिएको छ ।
प्रशिक्षक डेसच्याम्पले म्यानचेस्टर युनाईटेडबाट युभेन्ट्स आएका पोग्बा पूर्ण रुपमा फिट र फर्ममा भएको अवस्थामा मात्र विश्वकपमा छनोट गर्ने बताएका थिए । ‘उनी मैदान फर्कने बित्तिकै छनोट हुने छैनन् ।’ फ्रेन्च टिमका प्रशिक्षकले भनेका थिए, ‘उनले उच्चमा फर्ममा खेलेनन् भने यसको अर्थ हुने छैन ।’







-1762856022963.jpg&w=3840&q=75)





