काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले भारतीय शीर्ष डिभिजनको लिग खेल्ने भएकी छिन् ।
भारतीय आई लिग क्लब सेथु एफसीले राष्ट्रिय महिला टिमकी कप्तान एन्जिलालाई एक सिजनका लागि क्लबमा अनुबन्ध गरेको छ ।
क्लबसँग निरन्तर छलफलमा रहेकी एन्जिलाको शुक्रबार मात्र क्लबसँग औपचारिक सम्झौता टुङ्गिएको हो । उनले क्लबसँग करिब ९ महिनाको सम्झौता गरेकी छिन् ।
'सम्झौता करिब ९ महिना जतिको छ । एक सिजनका लागि सम्झौता भएको हो ।' एन्जिलाले खेलपाटीसँग भनिन् ।
राष्ट्रिय महिला टिमकी सिनियर खेलाडी समेत रहेकी एन्जिलाकै कप्तानीले नेपालले पछिल्ला महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा खेलेको थियो । एन्जिलाकै कप्तानीमा नेपालले भारतलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो ।
उनै एन्जिलालाई भारतीय क्लब सेथु एफसीले आई लिग खेल्नका लागि अनुबन्ध गरेको हो ।
सेथु एफसीबाटै राष्ट्रिय महिला टिमकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले खेलेका थिए । उनीहरुकै प्रर्दशनका आधारमा क्लबले भारतीय वुमन्स लिगको उपाधि जितेको थियो ।
भारतीय क्लबसँग औपचारिक सम्झौता गरेकी एन्जिलाले आई लिगमा खेल्ने अवसरले आफुलाई थप अनुभवी बनाउने बताईन् ।
'पहिलो पटक आई लिग खेल्न पाएको छु । अवसर पाएको छु । अझै अनुभवको कमी छ । गेमको कमी छ ।' उनले भनिन्, 'आईलिगको अनुभव महत्वपुर्ण हुन्छ भन्ने लागेको छ ।'
उनले घरेलु महिला फुटबलमा तीन वटा टिममात्र बलियो हुँदा धेरै अनुभव प्राप्त गर्न नसेकेको बताईन् । 'आर्मीमा छु । नेपालमा विभाग बाहेक बलिया टिम छैनन् । बलियो टिम नहुँदा पोस्टमा खासै बल आउँदैन । खेलको धेरै अनुभव लिन पाएको छैन ।' उनले भनिन् ।
'आई लिगमा राम्रो अनुभव बटुल्न पाउछु भन्ने विश्वास छ ।' उनले थपिन् ।
एन्जिलाको अनुसार उनी घरेलु लिग नभएको अवस्थामा डिसेम्बर भारत लाग्नेछिन् । 'डिसेम्बरमा अभ्यास गर्न बोलाएको छ । घरेलु लिग भएन भने डिसेम्बरमा उतै जानेछु ।' उनले भनिन् ।