काठमाडौं । लियोनल मेस्सी र नेयमार चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा जित हासिल गरेको छ ।
शनिबार राति पीएसजीले घरेलु मैदानमा ट्रोयसमाथि ४–३ को प्रतिस्पर्धात्मक जित दर्ता गरेको हो । मेस्सी र नेयमारले समान एक गोल गर्दै समान एक गोलको अवसर सिर्जना गरेपछि पीएसजीले धेरै गोल निस्किएको खेलमा जित दर्ता गर्यो ।
खेलमा अग्रता पाहुना टोली ट्रोयसले तेस्रो मिनेटमै मामा बाल्दको गोलमा लिएको थियो । नेयमारको पासलाई सदुपयोग गर्दै कार्लोस सोलरले खेल बराबरीमा ल्याए।
पुन पाहुना टोलीले बाल्दले दोस्रो हाफको सुरुवातमै गोल गर्दै ट्रोयसलाई अग्रता दिलाएका थिए । सर्जियो रामोसको पासमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
मेस्सीले उपलब्ध गराएको पासमा नेयमारले ६२ औं मिनेटमा गोल गर्दै खेललाई ३–२ ले अघि बढाए । खेलको ७७ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रतालाई ४–२ को अवस्थामा पुर्याएका थिए ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ पाहुना टोलीका एनी पलाभर्साले गोल गर्दै खेलको नतिजालाई ४–३ मा झारेका थिए ।
लिग वानमा पीएसजी अपराजित छ । उसले १३ मध्य दुई खेलमा बराबरी र बाँकी खेलमा जितको नतिजा हासिल गरेको छ ।
पीएसजीले १३ खेलबाट ३५ अंक जोडेको छ । उसले दोस्रो स्थानको लेन्स भन्दा ५ अंकको स्पष्ट अग्रता प्राप्त गरेको छ । ट्रोयस १३ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।